१७ कात्तिक २०८२ । काठमाडौँको गोकर्णेश्वर नगरपालिका ६ तिनचुली सडक खण्डबाट आईतबार मोटरसाईकल चोरीमा संलग्न एक जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा आउनेमा सिन्धुपाञ्चोकको मेलम्ची नगरपालिका ८ घर भई हाल काठमाडौँको तिनचुली बस्ने २८ वर्षीय उज्वल तामाङ रहेका छन् ।
प्रदेश ३-०२-००१ प ४५६५ नम्बरको निलो रंगको २२० cc को मोटरसाईकल प्रयोग गरिरहेको अवस्थामा फेला पारी उनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।
मोटरसाईकल सहित नियन्त्रणमा आएका उनलाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त बौद्ध काठमाडौँ पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेश राज सुवेदीले जानकारी दिनुभयो ।
आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्विल लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत सुरक्षा साइरनहरू जडान गर्नुका साथै मानिसहरूको आवत जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न प्रहरी उपरीक्षक सुवेदीले सम्पूर्णमा अनुरोध गर्नु भएको छ ।
हराएका सवारी साधन खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुँदै आएता पनि सवारी धनी स्वयम् सजग भई सुरक्षित स्थानमा पार्किङ गर्न हुन समेत अनुरोध गरिन्छ ।
सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३, नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा तत्कालै आफ्नो सवारी साधनको विवरण सहित फोन गर्न र नजिकैको प्रहरी कार्यालयमा निवेदन दिन सकिनेछ ।