दिनेशराज उपाध्याय
कार्तिक २०८२ बाँके । सामान्य रुपमा बुझ्दा घुमुवा सादा पोशाकका प्रहरी हुन् । उनीहरुलाई गोप्य सूचना संकलन गरेर अपराध नियन्त्रण गर्ने उद्देश्यले राखिएको हुन्छ । तर, पछिल्ला केहि वर्षहरु यता उनीहरु जिम्मेवारी छाडेर अन्यत्र असुलीमा सक्रिय हुने गरेको केहि तथ्य बाहिरीने गरेको पाइन्छ।
पछिल्लो समय इञ्चार्जसमक्ष पैसा पुर्याउने विश्वासिलो माध्यम बनेका छन्, उनीहरु । घुमुवा प्रहरी विशेषतः तराईका जिल्लामा बढी सक्रिय देखिन्छन् । सीमा नाकाबाट हुने चोरी, तस्करीमा उनीहरु जोडिँदै आएका छन् ।
नेपाल प्रहरीको नियमावलीमा भने घमुवा प्रहरी भनेर छुट्टै दरबन्दी ब्यवस्थापन गरेको भने देखिदैन । उसोत जिल्ला प्रहरी कार्यालयहरुमा ५ देखि १० जनासम्म घुमुवा राखिएको देखिन्छ ।
राजधानीमै पनि प्रहरी नायब उपरीक्षक (डीएसपी) को नेतृत्वमा हुने र प्रहरी वृत्तदेखि प्रहरी निरीक्षकको कमाण्ड हुने प्रहरी प्रभागसम्ममा घुमुवा राखिएका छन् । कतिपय कार्यालयमा असईको कमाण्डमा उनीहरुलाई राखिएको छ भने केही वृत्तहरुमा हवल्दारको कमाण्डमा छन् । जिल्लामा भने प्रहरी निरीक्षकको कमाण्डमा पनि घुमुवा खटाइएका छन्।
काठमाडौ लगायत उपत्यकाका अधिकांश प्रहरी कार्यालयहरुमा दुईदेखि ५ जनासम्म घुमुवा परिचालित रहेको भेटिन्छ । स्रोतका अनुसार प्रहरी वृत्त, दरबारमार्ग, लैनचौर लगायतले ३ जना घुमुवा राखेका छन् भने महाराजगञ्ज, बानेश्वर लगायतका वृत्तमा दुई जना घुमुवा छन् ।
केही घुमुवा प्रहरी एउटै प्रहरी अधिकारीको वरिपरि घुमेको पनि देखिन्छन् । कार्यालय प्रमुख अर्थात्, हाकिमको जता जता सरुवा हुन्छ, उनीहरुलाई पनि त्यतै लग्ने गरिएको छ ।
कतिपयको हकमा भने यो लागू भएको भने देखिदैन । केहिको हकमा त जागिर जुन जिल्लाबाट सुरु भएको छ, त्यहीँबाट अवकाश भएका उदाहरणहरु पनि प्रशस्तै देखिन्छन् । कहाँ–कहाँबाट रकम उठाउने गरिएको छ भन्ने उनीहरुलाई थाहा हुने भएकाले पनि घुमुवालाई सामान्य अवस्थामा सारिँदैन ।
पछिल्लो समय यसरी प्रहरी कार्यालयहरुको नेतृत्व गरेका अधिकारीहरुले आफू निकटका अधिकारीलाई घुमुवा राखेर अनुकुलता अनुसार प्रयोग गर्दा उनीहरु बदनाम हुने गरेको जानकार बताउँछन् ।
लेखक सुरक्षा विटमा लामाे समयदेखि पत्रकारिता गर्दै आउनुभएकाे छ ।